आध्यात्मिक अनुभूति







गण्डकी कोशी कर्णाली मर्स्याङ्दी रापती तथा
बागमती महाकाली विष्णुमती मनोहरा
भेरी इच्छुमती सेती मेची नारायणी अनि
लिखु बेत्रावती साथै पवित्र त्रिशुली पनि
नित्य स्नान गरे मिल्छ मोक्ष पूण्य पछि पनि
सिंच्दछन् जलले पुण्यभूमि नेपाल छिन् धनी
*********************************
बराह क्षेत्र गोकर्ण मुक्तिक्षेत्र पशुपति
हलेशी स्वर्गद्वारी गोसाइकुण्ड पुगे यति
रहन्न पापको शेष यो जन्म पूर्व जन्मको
कतै धाउनु पर्दैन नेपालै पुण्यको थलो ।
********************************

०१ :  शिवस्तुति  :

***शार्दूलविक्रीडित***
श्रावण् मास र साेमवार अतिनै मानिन्छ रे उत्तम
मैले गर्न भनी निराजन यहाँ अर्पें यही बन्दना ।
पाँचै बक्त्र र लीङ्ग देख्छु शिवकाे मन् पर्छ है हर्षमा
हे भाेले म सदा सदा भजनकाे लाग्ने छु उत्कर्षमा 
*********************************
***इन्द्रबज्रा***
सन्सारको शागर तर्न लाई
नौका तिमी ज्ञान भयो मलाई
पर्दै चरण् गर्दछु विन्ति रोई
मेरो सहारा नभएर कोही

पानी विना बाँच्दछ के र माछो
हावा विना प्राण रहन्न साँचो
जो धर्ममा अड्दछ कर्म साथ
ईस्वर् सधैं चुम्दछ सत्य माथ

माता तिमी हौ ममता तिमी नै
बाबा तिमी शाहस हौ तिमी नै
मेरो सुधी(१) शास्त्र सबै तिमी हौ
हे ईश सम्पत्ति सबै तिमी हौ ।
(१) गुरु, पण्डित
*********************************
**इन्द्रवज्रा**
थोत्रा लुगा झैं तन जीर्ण भै ‘ गो
शन्ताप बोकी मन जीर्ण भै ‘ गो ।
के‘ले बढायो मनभित्र घाउ
कैलाशका मालिक पार लाऊ ।।
छोरा र छोरी र पियार भन्दा
विर्सेछु सत्कर्म परेछु फन्दा ।
पोल्दैछ ऐले कसरी रमाऊ
कैलाशका मालिक पार लाऊ ।।
नाता र गोता भ्रम पो रहेछ
हो स्वप्न झैं जीवन यो रहेछ ।
थाम्नै नसक्ने मन यो बुझाऊ
कैलाशका मालिक पार लाऊ ।।
राम्रै रमे मोज विलास गर्दै
मैले भजें‌ राम न कृष्ण भन्दै ।
डुब्दै गयो अर्ध उमेर नाउ
कैलाशका मालिक पार लाऊ ।।
माता पिताको नगरेर सेवा
खाली हिंडें खोज्न भनेर मेवा ।
ब्यर्थै भयो लोभ, विचार, दाउ
कैलाशका मालिक पार लाऊ ।।
मेरो भनेरै मन सोच्छ सारा
यो नै अगुल्टो सरी भो पियारा ।
होला कहाँ शीतल यो सुझाऊ
कैलाशका मालिक पार लाऊ ।।
के कामका खातिर जन्म पाएँ
होसै नभै जीवन यो विताएँ ।
मेरो सुबाटो अवता बताऊ
कैलाशका मालिक पार लाऊ ।।
कोही कसैको न म काम आएँ
बाटो पुलेसा न कतै बनाएँ ।
मेरो सवै स्वार्थ घडा फुटाऊ
कैलाशका मालिक पार लाऊ ।।
हे पन्च बक्त्रा त्रय नेत्र धारी
मेरो सवै कर्तुतको विचारी ।
ठानेर आफ्नो तनमै मिलाऊ
कैलाशका मालिक पार लाऊ ।।
१०
शास्त्रार्थ पाँचै मुखमा रहेका
पूराण बेदाङ्ग विचार सारा ।
शास्त्रार्थ दर्शन् सव सुन्न पाऊँ
कैलाशका मालिक पार लाऊ ।।
११
चारै महावेद दिने तिमी हौ
मन्त्रार्थ उच्चारण यो बतायौ ।
वेदान्तको ज्ञान ममा दिलाऊ
कैलाशका मालिक पार लाऊ ।।
१२
सुन्दोपसुन्दा हननार्थ श्रृष्टि
यौटा गरे शक्ति भयो सुदृष्टि ।
गाथा उनैको हररात गाऊँ
कैलाशका मालिक पार लाऊ ।।
१३
देवी उही शक्ति तिलोत्तमाले
नाच्दै रमिन् भक्ति, सुभावनाले।
सोही सरी भक्ति म मा दिलाऊ
कैलाशका मालिक पार लाऊ ।।
१४
ती सुन्दरीको गति हेर्न लाई
भोला बने पाँच मुखे सुहाई ।।
पाँचै मुखैको अव नाम गाऊँ
कैलाशका मालिक पार लाऊ ।।
१५
हो तत्पुरुष् सुन्दर नाम एक
भज्दा ब्यथा दूर हुने अनेक ।
भजौं महेश्वर् प्रभु छन् दयालू
कैलाशका मालिक पार लाऊ ।।
१६
गायत्र(१) भन्छन् शिवको सु-मन्त्र
जपे पुगौंला शिवलोक् स्वतन्त्र ।
यो मन्त्र जप्ने क्षमता दिलाऊ
कैलाशका मालिक पार लाऊ ।।
१७
यो पूर्वको बक्त्र बढी अपूर्व
पूज्छन् यही सिद्धगणादि देव ।
पूज्दै यही ज्ञान शिवत्व पाऊँ
कैलाशका मालिक पार लाऊ ।।
१८
सन्सारको भौतिक सोख चाही
दैंत्यादिले ध्यान लगन् लगाई ।
गर्छन् उनै सामु छ विन्ति भाउ
कैलाशका मालिक पार लाऊ ।।
१९
नाबालकै रूप छ पश्चिमैको
राखेर मन्मा स-सदा उनैको ।
रम्दै सदोजात(२) जपौं न आऊ
कैलाशका मालिक पार लाऊ ।।
२०
जो भज्छ यो नाम सदा रमेर
ऊ जान्छ संसार उसै तरेर ।
ब्रह्मा स्वरूपी मुख हेर्न पाऊँ
कैलाशका मालिक पार लाऊ ।।
२१
यो नाम भज्दा शिवको कसैले
पर्दैन आर्को लिन जन्म कै'ले ।
हर्दम् ममा भक्ति तिमी जगाऊ
कैलाशका मालिक पार लाऊ ।।
२२
जुन् बक्त्र उत्तर् तिर फर्किएको
श्री विष्णु साक्षात मुहार यै‘हो ।
पालक् उनै ईश कहाँ म जाँऊँ
कैलाशका मालिक पार लाऊ ।।
२३
तेजोमयी कण्ठ छ पूर्ण शुक्ल
श्रोतै यजुर्बेद यही भनिन्छ ।
हे प्रेमका सुन्दर हाउभाउ
कैलाशका मालिक पार लाऊ ।।
२४
नौ सक्तिकोश्रोत यही भनिन्छ
हो जेष्ठ[1] हो श्रेष्ठ[2] र काल[3],रुद्र[4] ।
इत्यादि जप्दै म समीप पाऊँ
कैलाशका मालिक पार लाऊ ।।
२५
त्यो 'काल'मा नै विकरण्[5] जढेर
बल्को ‍परै नै विकरण्[6] पढेर ।
सम्झन्छु हर्दम् बल[7] यो सु-नाउँ
कैलाशका मालिक पार लाऊ ।।
२६
बल् शव्दलाई प्रमथन्[8] नजोडी
यो सर्वभूतोदमनादि[9] छोडी ।
भो हुन्न उद्धार यही बताऊ
कैलाशका मालिक पार लाऊ ।।
२७
सुन्दर् बदन् नाम अघोर वाला
नागादि आभूषणले उज्याला ।
जन्मेर मर्ने भय यो हटाऊ
कैलाशका मालिक पार लाऊ ।।
२८
तीनै गुणैले भरिपूर्ण; दाता
श्रष्टा तिमी पालक हौ विधाता ।
नासेर दुष्कर्म सँगै बसाऊ
कैलाशका मालिक पार लाऊ ।।
२९
जस्को मुखैमा छ अथर्व वेद
गर्दा कृपा छैन कतै विभेद ।
कैलाशको बास तिमी दिलाऊ
कैलाशका मालिक पार लाऊ ।।
३०
दक्षिण् तिरैको मुख लाभकारी
चिन्ता सबै हट्छ भजे पुरारी ।
सन्ताप नासी भय, रोग् हटाऊ
कैलाशका मालिक पार लाऊ ।।
३१
चौधै भुवन् तीन-त्रिलोक स्वामी
हे बेद शास्त्राज्ञ इशान नामी ।
के नाम गाऊँ र तिमी रिझाऊँ
कैलाशका मालिक पार लाऊ ।।
३२
ब्रम्हा र ब्रम्हाण्ड सबै नियन्ता
हे बेदका पालक पाप हन्ता ।
मेरो नशा मत्सर मार आऊ
कैलाशका मालिक पार लाऊ ।।
३३
ॐकार हौ ऊर्ध्वमुखे दयालू
चौषठ् कला सर्जक छौ कृपालू ।
नैवेद्यमा बस्तु म के चढाऊँ
कैलाशका मालिक पार लाऊ ।।
३४
कल्याणका कारक शान्ति दायी
सन्तान झैं प्रेम मिलोस् मलाई ।
बाधा सबै दूर तिमी गराऊ
कैलाशका मालिक पार लाऊ ।।
३५
नामै हजारौं शिव नीलकण्ठ
रूपै छ तिम्रो अति नै अनन्त ।
कुन् नामले ध्यान गरौं बताऊ
कैलाशका मालिक पार लाऊ ।।
३६
आकारमा नै हर सर्व पूज्य
मान्छन् निराकार र विन्दु तुल्य ।
श्रध्दा र आश्था सवमा जगाऊ
कैलाशका मालिक पार लाऊ ।।
३७
मानब् सबै गर्दछ लीङ्गपूजा
छौ अर्धनारीस्वर साथ दुर्गा ।
सत्कर्म सद्बुद्धि म मा दिलाऊ
कैलाशका मालिक पार लाऊ ।।
३८
बस्दा उमाका सँग धेर रम्दै
प्राणी रहन्छन् रतिराग जम्दै ।
इर्श्या र कालो मनको हटाऊ
कैलाशका मालिक पार लाऊ ।।
३९
सोही हुनाले सव चल्छ श्रृष्टि
हास्छिन् धरा बढ्दछ मेघ बृष्टि ।
मेरो पुकारा धरती हँसाऊ
कैलाशका मालिक पार लाऊ ।।
४०
ब्रम्हाण्डका पालक देवसाथ
हुन्छन् सँधैं सक्ति सुरम्य गाथ ।
गौरी लिई नन्दि चढेर आऊ
कैलाशका मालिक पार लाऊ ।।
४१
भज्दा उमाको पति नाम साझा
पुग्ने छ हाम्रो मनको इरादा ।
प्राणान्त बेला करमा समाऊ
कैलाशका मालिक पार लाऊ ।।
(१) गायत्री   (२) सद्योजात
(नोट  - (१-९) नौ सक्ति स्वरुप जेष्ठ,श्रेष्ठ,काल,रुद्र, कालविकरण ,बलविकरण, बल , बल प्रमथन, सर्वभूतदमन)
*********************************
जय शिव शंकर
***अनुष्टुप (पथ्यावक्त्र)
ध्यान, किर्तनले तर्छ भवसागर मानिस
मोह, लोभहरू छोडि संझिई यी सवै विष ।
शिवको भक्तिले मान्छे पुण्यै पुण्य कमाउँछ
कैलाश वास पाएर नन्दन् वन्मा रमाउँछ ।।

भज पार्वतीका भर्ता मोक्षार्थी यदि छौ भने
शिव नै सवका स्वामी उनै संसार सिर्जने ।
मुक्ति खोजेर पाइन्न किन्न पाइन्न हाटमा
मिल्दैन सन्ततीबाट, भेटिंदैन नि घाटमा ।।

भज शंकरको नाउँ अन्त्य विग्रन्न क्यै गरी
शिवकै नामले मिल्छ शान्ति, मुक्ति दुवै थरी ।
उनै ईश्वर मात्रै हुन् सहारा सव भक्तको
महादेव भजौं हामी थोपा हुन्जेल रक्तको ।।
*********************************
इशानाय नमस्तुभ्यम्
नमो: तत्पुरुषाय च ।
अघोराय नमस्तुभ्यम्
वामदेव नमोनम:

सद्योजात नमामी त्वां

पञ्चवक्त्राय शंकर:

शिवाय , शम्भू , रुद्राय

शरणागत उद्धर: ।

*********************************




चोक्टा लुछी गिध्द जुटेर साथ
नेपालको गर्न भनेर घात
उड्दैछ पङ्खा उसको खसाउ
कैलाशका मालिक पार लाऊ

नेपाल मर्दैछ तिमी वचाउ
नेपाल छोडेर कतै नजाउ
छोडेर मन् अन्त कतै नजाउ
भन्छू प्रभू आउन आउ आउ ।
*********************************
शिवको पाँच मुखको भजन‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌‌‌‍
-----------------------------‍

शार्दूलविक्रीडित

सद्योजात, अघोर, तत्पुरुष हो, हो वामदेवै पनि
पाँचौं नाम इशान हो नभतिरै त्यो फर्किएको छ नि
पाँचै नाम जपे त शम्भु शिवको रात्री, दिवा, प्रातमा
हुन्छन् शीघ्र प्रसन्न शम्भु शिवजी बस्छन् सदा साथमा ।







सद्योजात भनेर चिन्दछ सवै यो पस्चिमी बक्त्र हो
वामैदेव र तत्पुरुष दुइटा उत्तर् र पूर्वी भयो
दक्षिण् ज्ञानमयी अघोर सहितै चार् तर्फका बक्त्र छन्
योगीले पनि देख्ननै नसकने ईशान को देख्दछन्।

---------------------------------------------------
फल प्राप्ति :
अनुष्टुप (पथ्यावक्त्र)
शिवको मुख पाँचैको गर्दा भजन किर्तन
भोग भोगी सके मुक्ति पाइने हुन्छ अन्त्यमा
त्यसैले भज हे मान्छे शिवनाम छ पावनी
शिवको लोकको आशा तिमीमा यदि छन्  भने ।
==================================
अनुष्टुप (र विपुला)
सद्योजात वामदेव तत्पुरुष अघोर र
ईशान समेत गन्दा शिवको पाँच मुख छ ।
==================================
(१) पश्चिममुख सद्योजातको (पृथ्वी तत्व)को प्रार्थना
        (शार्दूलविक्रीडित :‌ म स ज स त त गु)

सेतो चन्द्र, हिमाल , फूल त चमेली झैं विना दागको
उम्लेको तर दूधझैं चहकिलो हो पश्चिमी बक्त्र त्याे

सेतै भष्म दलेर अङ्ग भरिनै शोभा बढेको अहो
भष्मीभूत गराउने मदनको, लोचन् झनै तेजिलो

पुज्छन् विष्णु, मरुद् र सर्जक पिता त्यो शैशवी रूपको
पृथ्वी तत्व यही त हो नि शिवको ऋग्वेद उद्गम् स्थलो

गर्भावास कुचक्रको विपतमा पर्नै नपर्ने गरी
तत्वज्ञान दिलाउने छ सवमा दर्शन् उनैको गरी ।

यो सन्सार अथाह सागर तरी उन्कै पुरी पाउने
सद्योजात चिनेर उत्तम भनी जो छन् भजन् गाउने ।

(२) उत्तरमुख वामदेव(जलतत्व) को प्रार्थना
(शिखरिणी : य म न स भ ल गु)

जटा लामो श्यामल्  शिरभर, तिलक् कुम्कुम घसी
स्वरूप् गोरो उज्ज्वल् मुख छ हँसिलो लाग्दछ शशि ।
छ आँखी भौं सुन्दर् नयन मन हर्ने छ जसको
हुँदा सेतो घाँटी अधर फलझैं रक्त रसिलो ।

(वसन्ततिलका : त त ज ज गु गु)

उत्तर् स्वरूप शिवको जल तत्व मानी
हुन् बामदेव भगवान भनेर जानी
जो गर्दछन् नमन श्रीशिव साथ पायो
कैलाशकै पुर पुगेर सदा रमायो

(शिखरिणी : य म न स भ ल गु)

यजुर्वेद्को उद्गम्स्थल पनि यही विव्दतहरू
कहन्छन् है, यिन्का सँग नव पुरा शक्ति छ अरू ।
प्रथम् औ दोस्रोमा प्रथम भनियो `जेष्ठ´ हरको
तथा दोस्रोलाई भगत सबले `श्रेष्ठ´ भनियो ।।

सवैका संहारी तृतिय हुन गो `रुद्र´ भनिने
छ भन्छन् है चौथो जगत भरमा काल भनिने ।
छ पाचौंमा पर्ने कलविकरणै, हो बल अनि
छ छैटौंमा , सातौं बलविकरणै शक्ति छ त नि ।।

छ आठौंमा पर्ने बल प्रमथनै भज्दछ मन
नवौंमा हो अर्को जलथल, सवैभूत दमन ।
गरे दर्शन् मिल्ला नजिक उनको मानिस मरी
नपर्ला है अर्को जनमलिनु जाला पनि तरी ।।

(३) पूर्वमुख तत्पुरुष(वायुतत्व) को प्रार्थना
(अनुष्टुप (पथ्यावक्त्र) : सम ५६७ ज, विसम ५६७ य)

उत्तप्त सुन भन्दा झन् उज्यालो वर्णको मुख
अर्ध चन्द्र जटामाथी शिरमा सर्प आसित
तामा भन्दा अझै रातो ओठ सुन्दर देखिने
सिद्ध, दानव का साथै देवले पनि पूजिने

साम गायनमा ब्यस्त सामवेद प्रवर्तक
त्रिशूल हातको शोभा छन् तत्पुरूष संज्ञक
वायुतत्व स्वरूपैको गायत्री(A) पनि सर्जक
गायत्रीमन्त्रको पाठ दु:ख रोग विनाशक

ज्ञान,ध्यान दुवै मिल्छ गरे दर्शन शम्भुको
सुख,भोग सवै मिल्छ शिवत्व मन्त्र योगको
त्यसैले पूर्वको रूप तत्पुरुष भजौं सदा
मनमा क्लेश वस्दैन, शान्ति आनन्द सर्वदा ।
(A) शिवगायत्री

(४) दक्षिणमुख अघोरमुख (तेज तत्व) को प्रार्थना
(अनुष्टुप (पथ्यावक्त्र) : सम ५६७ ज, विसम ५६७ य)

मेघ, गाजल भन्दा झन् कालो रूप भयङ्कर
अथर्व वेदको स्रोत, तेज तत्वज्ञ शंकर
शिरमा मणि संयुक्त सर्पले छ सुशोभित
अर्धचन्द्र पनि शाेभा छर्दै छर्दै सुसज्जित

खैरो भ्रमर झै लाग्ने चुल्बुले नेत्र रुद्रको
रूप दक्षिणको चाहिं नाम यिन्को अघोर हो
दाँत सुन्दरले गर्दा मुख उज्जल देखिने
यिनको स्तुती गर्नाले अन्त्यमा सद्गती हुने

राजसी,तामसी,सात्वी तीनै गुण समाहित
सिर्जने पालने नास्ने शिवको सत्य विग्रह
जन्म,मृत्यु,बुढा,रोग त्राशबाट सुरक्षित
यही नाम भजे हुन्छ बन्छ मानव रक्षित ।

(५) उर्ध्वमुख ईशान(आकाशतत्व)को प्रार्थना
(अनुष्टुप (पथ्यावक्त्र) : सम ५६७ ज, विसम ५६७ य)

चतुषष्ठी कला-विद्या, चारै वेद प्रकाशक
परब्रह्म र ओम्कार वेदका प्रतिपालक
सवै ब्रह्माण्डको रक्षक् चौधै भूवनका पति
तीनैलोक र ब्रह्माका नियन्ता पशुकापति

शुक्ष्म भन्दा झनै शुक्ष्म,व्यक्त,अव्यक्त रूपमा
कसैले देख्न सक्दैन – न योगीको छ दृष्टिमा
मृत्यु विजयका स्वामी मृत्युन्जय प्रवर्तक
आकाश तत्व मानिन्छन् आकाशैतिर बक्त्र छ

यिनै ईश्वरको नाम हो ईशान जगत्पति
श्रेष्ठ दैविक यी शक्ति युक्त देख्दछ यो मति
नमस्कार गरौं हामि – भई मानिस उत्तम
उनैको भक्तिले हुन्छौं उनैसंग समागम ।

शिवको मुख पाँचैको गर्दा भजन किर्तन
सुख भोग गरेपश्चात् मुक्ति पाइन्छ अन्त्यमा
त्यसैले भज हे मान्छे शिवनाम छ पावनि
शिवको लोकको आशा तिमिमा यदि छन् भने ।
         
अनुष्टुप (पथ्यावक्त्र : सम ५६७ ज, विसम ५६७ य)

शिवका सब ती पाँचै मुखनै अर्थपूर्ण छन्
प्राणीको अङ्गका पञ्चतत्वका ती प्रतीक हुन् ।
हाम्रो शरीरको पृथ्वी तत्व हो पश्चिमी मुख
मिलाउनु तिमीमा नै यही तत्व सदाशिव ।

जलतत्व भनी तिम्रो उत्तर् मुख चिनिन्छ है
मिलाऊ है तिमीमा नै जल तत्व जति सबै
तिम्रोदक्षिणको रूप अग्नि तत्व छ यो बुझें
यो शरीर डढी जाँन्छ लीन हुन्छ तिमीसँगै ।

मुढाे बनेर लढ्दामा हावा जाँदा उडी कतै
वायु तत्व तिमीमानै मिल्ने आश छ है सँधैं
वायु तत्व स्वरूपैको पूर्वको मुख ईश्वर
आकाश तत्वकोलागि उर्ध्वमुख परें भर ।
समाप्त

नोट    : संस्कृत - खोजेको रचनाबाट साभार (पत्र-पत्रिका तथा अन्तर्जाल)
            : अनुवाद -  खोजेकै रचना – संस्कृत तथा आङ्ग्ल भाषाको अनुवाद

०२ :  कृष्णस्तुति :
गोपीगीत (नेपालीमा) सारेको
हरिगीतिका छन्द
२०७७।०२।२२

अनुरोध
न म त विद्वता प्राप्त शक्ति हूँ
न म त काब्यको सिद्ध हस्त हूँ ।
न म त संस्कृतै ज्ञान राख्दछु
म सब सिद्धका काब्य चाख्दछु ।

श्रवण, चक्षु यी इन्द्रियै जति
मनन गर्दछन् राख्दछु म ती ।
प्रवचनै तथा हिन्द, आङ्लका
जति प्रलेख नै पर्छ हातमा ।

पठन नै गरी जे बुझें उति
अलिकता यहाँ लाउँदै मति ।
कलम साथले कृष्णका कुरा
अमृत झैं मिठा राखियो पुरा ।

यदि कतै भए वर्ण, शब्दमा
गलत या भुलै गर्नुहोस् क्षमा ।

(१)
जनम गोपमा भो र कृष्णको
अधिक गोपको कीर्ति फैलियो ।
ब्रज भयो भनी धाम कृष्णको
अनि त इन्दिरा शीघ्र पाल्नुभो ।।

न अब प्राण नै गोपिनी सँग
सबत छोडिए कृष्ण पादमा ।
वनवनै डुली गोपिका गण
प्रियतमा भनी खोज्दछन् सुन ।।
(२)
मनभरै तिमि मात्र भज्दछौं
चरणका विना शुल्क दाश हौं ।
शरदमा कतै सिन्धुमा परी
जति मनोहर इन्दुको छवि ।।

त्यति मनोहरै नेत्र बाणको
तडप मात्रले मर्दछौं अहो ।
भन त अस्रले मात्र मर्छ को ?
नयन तीरको चोट धेर भो ।।
(३)
जलभरै थिए सर्पका विष
अति भयानकै थ्यो अघासुर ।
अझ बढी थियो बृष्टि इन्द्रको
अनल बिद्युती, तीब्र वायुको ।।

वृषभ एक हो, ब्योम दोसरो
असुर थे दुई शत्रु गोपको ।
विपत जे थिए ती सबै ह-यौ
सकल गोप संरक्षणै ग-यौ ।।
(४)
न प्रभु नन्दका पुत्र मात्र हौ
ब्रजभरी मिठो प्रेम छर्दछौ ।
तर सखा सबै प्राणि, जीवको
हृदयभित्र नै बास गर्दछौ ।।

ब्रज त खेलको स्थान केवल
सकल विश्वकै एक रक्षक ।
जगत सिर्जनेबाट प्रार्थना
जब भयो तिमी जन्मियौ यहाँ ।।

र यदु वंशका शान हौ तिमी
सकल गोपका प्राण हौ तिमी ।
(५)
कुलदियो तिमी वृष्णि वंशको
प्रबल वीर हौ गोपमा प्रभो ।
चतुर छौ तिमी प्रेम गर्नमा
मन त गोपको झट्ट हर्नमा ।।

सकल गोपका प्रेम तिर्षना क्षणभरैमहाँ पूर्ण गर्नमा । मरण, जन्मको त्राशले सब मनुज आउँछन् पासमा जब ।। चरणमा परी भक्ति गर्छ जो विपत शीघ्रनै हट्छ तेसको । शरणमा लिने कृष्ण एक हौ अभय प्राणिमा दान गर्दछौ ।। जुनभुजामहाँ श्री निवास छ सकल कामना पूर्ण गर्दछ । अब तिमी दुवै आफना कर ब्रज पुरन्ध्रिका माथ राख त ।। (६) हृदय ढुक्ढुकी सर्ब गोपको भय र दु:ख नै हर्दछौ प्रभो । अधर खुल्दछन् मुस्कुराँउँदै मद र मान नै चूर्ण हुन्छ है ।। रिस र राग ता छोड हे सखा परम प्रेमले हेर प्रेमिका । ब्रजमहाँ हुने गोपिनी गण परम पादको दाश भैकन ।। तृषित छौं सदा पूर्ण भक्त हौं चरण कृष्णको आश गर्दछौं । भजन गर्दछौं गोप सुन्दरी वदन देखने चाहना गरी ।। (७) चरण कृष्णको पाप हर्दछ शरण भक्त भै जो त पर्दछ । मधुर शब्दमा, देह सुन्दरी चरण कृष्णको काखमा धरी ।। बदन हेर्दछिन् विष्णु बल्लभा चरण त्यै पिछा गर्छ धेनुका । अनि त नागको माथ कुल्चिने स्मरण मात्रले वेदना सखे ।। विरह चल्दछन् संझदा सबै मिलन फेर ता हुन्न झैं कवै । जलन बक्षमा धेर भै सके किन छ दूरता भेट है सखे ।। अव त पाद ती राख वक्षमा हृदय शान्त होस् यै छ कामना । (८) कमल नेत्रका हे सखा हरि बचन माधुरी सोमकै सरी । जति छ योग्यता ज्ञान विद्वता नजिक कृष्णको भाग्दछन् कता ।। जव त सुन्दछन् कृष्णका मिठा बचन शब्दमा मन्त्र मुग्धता । मधुर शब्दमा गोपिनीहरू भ्रमित, मोहमा लौ न के गरूँ ।। जिउनु के गरी लास झैं बनी छिटछिटै गरी भेट गोपिनी । अधर सोम झैं दिव्य ओखती पिउन पाउँदा प्राण बच्छ कि ।। प्रभु छिटैगरी सोम प्याउनू शिथिल भै सक्यौं लौ बचाउनू । (९) कथन कृष्णको सोम झैं मिठा यदि पिईदिए कष्ट दु:ख ता । हरण हुन्छ आनन्द खिल्दछन् जिउन गाथमा शान्ति मिल्दछन् ।। कवि र भक्त या ज्ञान-मानव हरिगुणै मिठा नित्य गाउँछ । हरिकथा सुने पाप, तापको क्षणिक कालमै नष्ट हन्छ हो ।। परम पुण्यता, पूर्ण मङ्गलै हरिकथा सुनी प्राप्त हुन्छ है । मधुर, सुन्दरै कृष्णका कथा परम नित्य छन् हर्दछन् व्यथा ।। मनुज जो यही गानमा सदा मगन हुन् तिनै दानमा बडा । (१०) दिन थिए अहा मोज मस्तिका मन रमाउँथे साथमा प्रिया । परम मुस्कुराहट् र खेल ती चपल नेत्रले हेर्दथ्यौं कति ।। सकल कृष्णका खेल संझदैं मन त हर्षितै बन्दथ्यो खुबै । कपट पूर्ण जे गर्दथ्यौ तव शुभ र मङ्गलै मान्दथ्यौं सब ।। अव त यादले बाँच्न कष्ट भो मुटु असैह्य भै दुख्छ हे प्रभो । (११) चरण सुन्दरै झन् सुकोमलै कमल पत्र नै हुन्न त्यत्तिकै । वन गए तिमी धेनु साथमा तृण र शूलले घोच्छ पादमा ।। कति शिला, तिखा घाँस धारिला नरम पाउमा विझ्दछन् कि ता । प्रिय सखा यिनै संझँदा झन विचलितै भई दुख्छ यो मन ।। (१२) चरन धेनुको सक्किए पछि घर फिरे तिमी साँझमा सखी । नयन पर्दछन् केशमा जव धुलित देखिने केश सुन्दर ।। जब त धेनु ती कुद्छ भूमिमा तव त उड्दछन् बेसरी धुला । घुँघुँर केशमा ती धुला परी अति मनोहरै देखिने हरि ।। अलक केशका माथ बीचमा टलक देखिने केशमा अहा । झलक रूपको प्रेम-मोहिनी सकल गोपिका देख्दछन् अनि ।। मन तरङ्गितै हुन्छ हे सखा मिलन प्रेमको बढ्छ आश ता । मिलनको हुँदा तीब्र कामना तडप बढ्दछन् शीघ्र बक्षमा ।। (१३) प्रियतमा सबै ताप हर्दछौ जति छ चाहना पूर्ण गर्दछौ । शरणमा परे भक्तका सबै विपत नाश भै शान्ति मिल्छ है ।। कमल पुष्प झैं पाउ कृष्णका हृदयमा परे हट्दछन् व्यथा । चरण बक्षमा झट्ट राख न जलन बक्षको शान्त पार न ।। (१४) जव त बेणु ती ओठ चुम्दछन् तव मिठो गरी बज्न थाल्दछन् । मधुर गीतले कृष्णका गुण लय र तालमा गाउँछन् सुन ।। अधर सोमको पान संझँदा स्मरण कृष्णकै हुन्छ सर्वदा । अनि त शोक या कष्ट भाग्दछन् हृदय कृष्णमा शीघ्र लाग्दछन् ।। अधर सोम यो चाख्छ जो जन निरस मान्दछन् अन्य वस्तुमा । सुन न हे सखा ओठका रस अव त गोपिनी साथ बाँड त ।। (१५) दिनमहाँ तिमी डुल्न हिँड्दछौ वनतिरै घुमी साँझ फिर्दछौ । समय ती बडो हुन्छ निर्मम युगसरी हुने एक नै क्षण ।। घर तिमी फिरे साँझमा सखा अलक माथको देख्दछौं अहा । वदन सुन्दरै देखदा सबै नयन गोपका होसमा नभै ।। मगन मस्त भै हेर्दछन् मुख झिमिक नै कवै हुन्न नेत्र त्र । अनि त गोपिनी सोच्दछौं र यो यति मिठो क्षण सिर्जने छ को ? नयन झिम्कनै धेर कष्ट भो पल बनाउने लाग्छ मूर्ख हो । (१६) प्रियतमा सबै भाइ या पति सुत तथा सुता आफना जति । बस घरै भनी भन्दथे सब बचन नै सबै तोडियो जव ।। शरणमा यहाँ आउँदा पनि कपट गर्दछौ प्रेमका धनी । कपटका कुरा जान्दछौं पनि तर मिठा मिठा गीतले अनि ।। मन भुलेर नै रातमा पनि छिटछिटै गरी आउँछौं त नि । भन त प्रेमले धाउँदा पनि किन निठूर भै छोड्दछौ तिमी ? (१७) मिलनका मिठा भाव जागने कति मिठा कुरा गर्न तम्सने । विजन ठाउँमा भेटदा सखा बचन जिस्कने बोलने अहा ।। हँसमुखै गरी हेर्न गोपिनी अति चलाख नै हौ प्रिये तिमी । हरिप्रिया सदा बस्दछिन् जहाँ अति विशाल ती सौम्य बक्षमा ।। दिनदिनै खुवै बढ्छ चाहना सँगसँगै तिमी सर्वदा हुन । सबजना भयौं धेर चिन्तित मन उडेर नै गो तिमीसित ।। (१८) ब्रज, वनैमहाँ बस्दछन् जति स्वजनले यही सोच्दछन् यति । सब कृयाकलापै त कृष्णको सुख दिने थिए ; दु:ख कष्ट जो ।। क्षणभरैमहाँ नष्ट बन्दथे अशुभ दूर भै मङ्गलै भए । अझ सबैमहाँ आश एक छ कि त सँगै रहू गोपमै बस ।। कि त कुनै नयाँ ओखती दिनू हृदयको कडा रोग नाशनू । हुन गयौं सबै प्रेम विह्वल गरन है कृपा भक्त वत्सल ।। (१९) चरण कृष्णको धेर सुन्दर कमल फूल भन्दा छ कोमल । डर लिईकनै पाउ कृष्णका स्तन कडामहाँ सुस्त राखदा ।। अलिकता कतै कष्ट हुन्छ कि चरणमा कुनै चोट लाग्छ कि । विचलितै भई सोच्दछौं सब किन निशाभरै घुम्दछौ अव ।। वनवनै घुमे पाउमा कुनै किन ! हुँदैन र ? घाउ कष्ट नै । भन शिला तथा शूल, गिट्टिले नरम ती दुवै पाउमा कतै ।। विझिगयो भने दुख्छ धेर कि ब्रज निवासिनी गोपिनी अति । मनमहाँ यही सोच्न थालदा प्रिय अचेत नै बन्दछौ यता ।। मन, शरीर यो कृष्णकै त हो प्रभु विना त के बाँचनु अहो । मन अरू कतै छैन हे प्रभो बुझ त गोपिनी मात्र कृष्णको ।। कृष्णार्पणमस्तु ।

पुरन्ध्रि      महिला
विजन      एकान्त, निर्जन

०३ :  तुलसी प्रार्थना  :
हेर्दैमा सब पाप नाश छ हुने भज्दा निरोगी हुने
छोए बन्छ पवित्र, शुद्ध; भयको सिँच्दा छ अन्त्यै हुने
छोएमा त पवित्र बन्दछ शरीर्, सिँच्दा भयै नाश् हुने
रोपे मोठ बनाइ अाँगनमहाँ श्री कृष्णको धामको
बाटो मिल्दछ, भक्तिले तुलसीको मिल्ने त पुण्यै न हो ।
पत्ताले हरिपाद पूजन गरे होइन्छ मुक्तै पनि
ती देवी तुलसी सदा विनयले पूजिन्छ राधा भनी ।
=======
इन्द्रवंशा ततजर
पूजा तथा ध्यान र किर्तनै गरी
रोपेर या सेवनले सँधैभरी ।
जे पाप राशी जगडा उपार्जित
गर्छिन् प्रदग्धै तुलसी क्रमैसित ।
======
ती मोक्षकी साधन हुन् मनुष्यको
पु-याउने स्वर्ग उनै विमान हो ।
यस्तो दिँदा मानिसमा सुझाव या
आफैं सदा पालनमा यिनै कुरा ।
त्यो बस्छ बैकुण्ठ पवित्र भैकन
त्यो धाम हो माधवको निकेतन ।
======
पीयूषबाटै तिमी जन्मियौ अनि
पीयूष नै छ्यौ गुण, धर्मले पनि ।
साँचो सँधैं केशवकी प्रिया तिमी
चिन्नेछु मैले प्रभु! राधिका भनी ।

राधा र श्रीकृष्ण भजौं सँधैभरी
देऊ मलाई वरदान सुन्दरी ।
पत्ता तथा कोमल पुष्प मञ्जरी
अर्पन्छु पूजा गरदा उनै हरिः ।

हर्दम् हरि:का चरणारविन्दमा
तिम्रै पवित्राङ्ग चढाउँ है रमा ।
गर्दा हरिः पूजन भक्ति भावले
नास्नू कलि रूप मलै ममा भए।

हिंसा तथा द्वेष र वैमनुष्यता
साथै घृणा लोभ तथा अहम्पना
यी हुन् कलीका मल रूप फोहर
टाढा मबाटै तुलसी तिमी गर ।

०४ :  दुर्गा प्रार्थना  :
१) शैलपुत्री (अनुष्टुप)
अर्ध चन्द्र लगाएर शिर नै छ सुशाेभित
भक्तका बरदाता हाै गर्दछू बन्दना म त ।
शूल हातमहाँ लिन्छ्यौ साँढेमा देख्छु आसित
हे हिमाल सुता देवि फैलियाेस् प्रभुकाे यश ।

२) ब्रह्मचारिणी (वंशस्थ जतजर) छ अक्षमाला अनि एक हातमा कमण्डलू, पद्म लिएर साथमा । म भक्तकाे दुष्ट र दुःख हारिणी प्रसन्न होऊ प्रभु ब्रह्मचारिणी । ३) चन्द्रघण्टा (स्रग्धरा मरभनययय) देवी ती चन्द्रघण्टा दस भुज सहितै बाघमाथी बसेकी नाना शश्त्रार्थहेरू सब दस करमा दैत्य नास्नै लिएकी । पाेलेकाे स्वर्ण जस्तै चम-चमक हुने अङ्ग गाेराे र सुन्दर् आभा त्याे पर्न जाँदा त अति चहकिलाे देखिने भूमि, अम्बर । माथामाथी धरेकाे मुकुट चहकले अङ्गकै कान्ति भर्ने त्याेमाथी नै रहेकाे निशिकरसरिकाे घण्ट अावाज गर्ने । घण्टाकाे तिक्ष्ण रन्काे सुनिकन सबनै दानवी शक्ति डर्ने देवीका भक्त सारा टनटन धुनमै मुग्ध, अानन्द पर्ने । याेध्दा जस्तै तयारी सब तरह उनी युध्द नै गर्नलाई हे देवी बस्न देऊ चरण कमलमा भक्त सम्झी मलाई । ४) कुष्माण्डा (इन्द्रवंशा ततजर) शार्दूल वाहन् अनि स्वर्ण वर्ण छन् चन्दन् सरी रक्तिम अङ्ग कान्ति झन् । हाँसेर नै दिव्य प्रभा फिँजाउँदै ब्रह्माण्ड सिर्ज्यौ तम घाेर नासदै । आठै भुजा पूर्ण छ आठ वस्तुले माला, गदा, युध्म र पद्म, चक्रले । पीयूषले पूर्ण घडा तथा अरू छन् हातमा बाण र छन् कमण्डलू । छाै है कुभिण्डाे बलिले खुसी हुने सन्ताप सारा मनकाे भगाउने कुष्माण्डले पूजन गर्छ जाे जहाँ देऊ तिमी बुध्दि र सक्ति भक्तमा । युध्म = धनुष कुष्माण्ड = कुभिण्डाे पीयूष = अमृत ५) स्कन्धमाता (शालिनी मततगुगु) हे देवी छौ सिंहमाथी बसेकी दाेटा हात्मा पद्ममात्रै लिएकी । दायाँ तल्लो हातले स्कन्धलाई च्यापी राख्ने मातृ वात्सल्य छाई । साेहीले नै स्कन्धमाता छ नाम देवी मेराे लाखलाखौं प्रणाम । छैनन् केही हातमा शश्त्रअश्त्र माताको नै भाव राख्ने प्रशस्त । तिम्राे गाथा विस्वमै गुन्गुनाउन् तिम्रा सारा भक्तले लाभ पाउन् । ६) कात्यायनी (शार्दूलविक्रीडित मसजसततगु) तिम्रा चार भुजा बलिष्ठ अति छन् हे मातु कात्यायनी मुद्रामात्र बनाइ दुई करले बर्दान दिन्छ्यौ पनि । भाला, पद्म लिएर अन्य करमा दैत्यादिकाे नाश् गरि भक्तैकाे भय नासने र चढने बाहन् गरी केशरी । कात्यायन् ऋषिको निवास तिर पाे भाे जन्म याे सुन्दछु मेराे कल्मषकाे विनाश गर है आजै शरण पर्दछु । ७) कालरात्री (वंशस्थ जतजर) शरीर कालाे छ अमा-निशा सरि कपाल झाँक्रो उनकाे सँधैंभरी । गधा चढेकी गहना छ कुण्डल त्रिनेत्र देखिन्छ निकै भयङ्कर । बहन्छ सासैसँग अग्निका शिखा करै दुई वाममहाँ तिखा तिखा- लिएर काँढा, तरवार लोहको धपक्क छिन् माल्य लगाइ पुष्पकाे । बनाइ मुद्रा सब वाम हातले दिने तिनै हुन् वरदान, निर्भयै । म कालरात्री प्रभुकाे भजन् गरूँ सँधै उनैकाे पदमा शरण् परूँ । ८) महागौरी (शार्दूलविक्रीडित मसजसततगु) सेताे वस्त्र शरीरमा छ उनकाे सेतै छ है वाहन साँढेमाथि सवार छन् भगवती आनन्द नै भैकन भक्तैका सुखका निमित्त करमा मुद्रा र शस्रास्र छ दायाँ हातमहाँ त्रिशूल छ अनि मुद्रा दिने निर्भय । वायाँमा डमरू छ डिम्डिम सदा वर्दान मुद्रा पनि चिन्ता मानिसकाे हटेर सहजै जाला पुजेमा उनी । गौरी हाे उनको सुनाम, शिवकी अर्धाङ्गिनी शक्ति हुन् जाे जाे भक्त सदैव पुज्दछ तिनैमाथी कृपा गर्दछिन् । ९) सिध्दिदात्री (अनुष्टुप) देव दानवले पुज्ने यक्ष गन्धर्व सिद्धले पुजिने हौ तिमी देवी सिद्धिदात्री छ नामले । चार हातमहाँ पद्म, शंख, चक्र, गदा लिने अाफ्ना भक्तहरूलाई बुद्धि,सिद्धि दुवै दिने । म तिम्राे भक्त हूँ देवी खुसी हाेऊ सँधैभरी भज्नेछु प्रभुकै नाम ध्यान, कीर्तन नै गरी । मलाई भाेक तिर्खा छ तिम्रै अाराधना प्रति अन्य वस्तुमहाँ केही माेह लाग्दैन है रती । *********नवदुर्गाकाे भजन समाप्त**********

०५ :  विविध प्रार्थना  :
--- दत्तात्रय
हे दत्तात्रय विष्णु रुद्र र पिता ब्रह्मा सबै हाै तिमी
हे अत्रीसुत विश्व के हुन गयाे छाेड्दै छ मान्छे जिमी

--- विष्णु
सकल जगत रच्ने श्रीहरि:का स्वरूप
भवभय सव हर्ने रामलाई प्रणाम ।

गोविन्दको दर्शनमात्रले यसै
पुण्यै छ मिल्ने शय अश्वमेधकै
यज्ञादि जो जो विधिसाथ गर्दछ
स्वर्गैमिलेमा पनि झर्नु पर्दछ

फर्किन्छ ऊ भूतल फेर जन्मिई
टुट्दैन है यो क्रम ता कसैगरी
भज्दा र ढोग्दा मनलै उनै हरि:
मिल्नेछ बैकुण्ठ नफर्कनेगरी

--- गणेश
श्री गणेश
ॐ गं गणपतये नमः
हे लम्बाेदर, ढुण्डिराज,विकटे दिन्छौ सबैमा धन
मान्छेका सब कामना भरिदिने हे पार्वती नन्दन
साथै सिद्धि र रिद्धि छन्, गणपते, हे एकदन्ती, गुरु
दानी देव तिमी विनायक सरी को देव होलान् अरू
हे विध्नेश्वर हे गजानन तिमी हे स्कन्धका अग्रज
तिम्रो पाउ परेर भन्दछु सबै संकष्ट मेरो हर ।

--- बगलामुखी
ॐ ऐं ऋं क्लिं चामुण्डायै विच्यै:
हेदेवी बगलामुखी भगवती याे बार तिम्राे भनी
पुज्छन् है गुरुबार भक्तजनले संध्या भएता पनि
बाल्छन् एक र लक्षदीप कतिले मागेर आफ्ना सुख
तिम्रै भक्त म एक हूँ बुझ प्रभु काेही नपाउन् दुःख
दिन्छ्यौ रे बरदान भक्तजनमा मागेजति पुग्छ रे
मेरो देश छिटै बचाउन हरे यो त्रस्त भो रोगले
नेपाली जनता बचुन् सबजना देवी ल रक्षा गर
माग्दै भन्छु मनुष्यका विपतका सन्ताप सारा हर ।

---
महेश हुन् या जगका प्रशासक
न देवकीका सुत देह शासक
विभेद या देख्दिन खास अन्तर
तथापि भज्छू गिरिजा र शंकर ।
----
अपराध कुनै मेरा अङ्गले, मनले पनि
कर, पाद, दुवै अाँखा,कानबाट भयाे भने
अथवा कहिले जानेरै नजानिकनै हओस्
करुणाकर हे देव महादेव क्षमा रहाेस् 
‍‍‍‍‌‌‌‌----
शरीरले, इन्द्रिय, शब्द, सोचले
जानी, नजानी,रित या प्रभावले
जे जे गरें ती अब शुद्ध भैकन
गर्छू म नारायणमा समर्पण ।
----
न हतियारले मर्छ न आगोले डढाउँछ
न गलाउँछ पानीले न हावाले सुकाउँछ ।
न टुट्ने न त बल्ने यो, न गल्ने न त सुक्दछ
सँधै अस्तित्त्वमै हुन्छ यो सनातन नित्य छ ।